शनिबार , जेठ १, २०७८

नेपाली राजनीतिमा धोकाधडी र षडयन्त्रको चलनः जसले ल्यायो उही सकियो

नेपाली राजनीतिमा धोकाधडी र षडयन्त्रको चलनः जसले ल्यायो उही सकियो

नेपालको राजनीतिमा एउटा आवृत्ति जहिले पनि दोहोरी रहन्छ । जसलाई ल्यायो उसैबाट फालिने । यसका केही उदाहरणहरु तल प्रस्तुत गरिएका छन्, जसले नेपालको भावी राजनीति कतातिर बहकिन्छ भनी एउटा निचोड निकाल्न सकिन्छ ।

उदाहरण १

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बरालिएर हिडिरहेका आफ्ना भाञ्जलाई शक्तिकेन्द्रमा ल्याईदिने माथवरसिंह थापा तिनै भाञ्जा जंगबहादुर राणाबाट मारिएको कुरा इतिहासमा लेखिएको छ । त्यसपछि गोर्खाली थापाहरुको नेपालको राजनीतिमा उपस्थिति नै समाप्त भयो ।

उदाहरण २
आफ्नो छोरालाई गद्दी दिलाई देला भन्ने लोभमा जंगबहादुरलाई शक्तिमा ल्याउने कान्छी महारानी उनै जंगबहादुरबाट थुनिए ।

उदाहरण ३
जंगबहादुरले सबैभन्दा बढी माया गर्ने कान्छा भाई धीरशमशेरका छोरा वीरशमशेरले आखिर जंग खलकलाई पाटीको बास बनाई छोड्यो । अहिलेसम्म पनि जंगखलकले नेपालमा कही पनि प्रभावकारी उपस्थिति देखाउन सकेको छैन ।

उदाहरण ४
रणोद्दीपले सबैभन्दा बढी विश्वास वीरशमशेरलाई गर्थे । लाहोर पेशावर जानपूर्व साँझ हैन बिहान हतियार दिनुपर्दछ भन्ने सल्लाहकारको सल्लाह नमानी वीर माथि शंका नगर्न उल्टै सल्लाहकारलाई आदेश दिने रणोद्दीप तिनै वीरशमशेरहरुबाट समाप्त पारिए भनी इतिहासमा उल्लेख गरिएको छ ।

उदाहरण ५
वीरशमशेरलाई सत्ता हत्याउन सबैभन्दा बढी सहयोग गर्ने खड्गशमशेर वीरशमशेरबाट उपत्यका छिर्न नपाउने गरी धपाइए ।

उदाहरण ६
देवशमशेरलाई सबैभन्दा मनपर्नेमा चन्द्रशमशेर नै थिए । उनको सबैभन्दा बढी चाकरी गर्नेमा पनि चन्द्रशमशेर अग्रपँक्तिमा थिए । दिउँसो देवशमशेरको कोटको अविर टक्टकाउने चन्द्रले साँझ उनलाई पाता कसेर धनकुटा लखेटे ।

उदाहरण ७
देवशमशेरलाई धनकुटा धपाई चन्द्रशमशेरलाई गद्दी दिलाउन भूमिका खेल्ने प्रमुख पात्र गेहेन्द्रशमशेर तत्पश्चात कहिल्यै सत्तामा आउन सकेनन् ।

उदाहरण ८
संस्कृत छात्रबासमा निशुल्क आवास, भोजन, शिक्षाको व्यवस्था गरेको राणाशासनको जरो हल्लिने गरी विद्यार्थी आन्दोलन त्यही संस्कृत पाठशालाबाट शुरु भयो ।

उदाहरण ९
नेपालको राजनीतिमा पहिलोपल्ट भारतको भूमिका स्थापित गरेका राजा त्रिभुवनका नातिका पालामा भारतकै कारण राजतन्त्र नै समाप्त भयो ।

उदाहरण १०
तुलसी गिरी, विश्ववन्धु थापालाई कांग्रेसको राजनीतिको मियोमा ल्याउने बीपी कोइरालाको राजनीतिक अवसानमा यी दुवैपात्र पहिलो पँक्तिमा खडा भए ।

उदाहरण ११
राजा महेन्द्रसँग सूर्यबहादुर थापाको परिचय गराई दिने विश्ववन्धु थापा त्यसपछि तिनै थापाका कारण प्रधानमन्त्रीको अवसरबाट वञ्चित हुँदै गए ।

उदाहरण १२
२०४६ सालको जनआन्दोलनमा बाामपन्थीहरुलाई संलग्न गराउन हुँदैन भन्ने कोइरालाहरुको मतलाई अस्वीकार गर्ने कांग्रेस र बाम गठवन्धनका प्रणेता गणेशमान र कृष्णप्रसाद भट्टराईको राजनीतिक अवसान तिनै बामपन्थीहरुका कारण हुन गयो, मंगलादेवी, प्रकाशमान र कृष्णप्रसाद भट्टराईलाई निर्वाचनमा पराजित गरेर ।

उदाहरण १३
उपरोक्त सबै उदाहरणहरुले नेपालमा जसले अगाडि ल्यायो त्यसलाई उक्त ल्याइनेबाट समाप्त हुने एउटा गजवको चरित्रगत विशेषता विद्यमान रहेको पाइन्छ । कोही आफै आउँछ भन्ने त्यो हानीकारक हुँदैन । जब ल्याइन्छ अनि ल्याउनेको दुर्दशा र आउनेको भाग्योदय शुरु हुन्छ ।

उदाहरण १४
तमिल टाइगर र साइनिङ पाथको दशाको सँघारमा रहेको माओवादीलाई सुरक्षा, सत्ता र सम्पत्तिले युक्त बनाउन भूमिका खेल्ने प्रमुख पात्र गिरिजाप्रसाद कोइराला उनै माओवादीका कारण सत्ताबाट सदाका लागि हात धुनु पर्यो । नेपालको पहिलो राष्टपति हुने गिरिजाप्रसादको योजना माओवादीकै असहयोग र धोकाका कारण भताभुँग भयो ।

उदाहरण १५
नेपालमा लोकप्रिय कम्युनिष्ट पार्टी बनाउने ध्याउन्नमा पढेलेखेका युवाहरुलाई भकाभक केन्द्रिय समितिमा स्थान दिंदा तिनै युवाहरुले सीपी मैनालीलाई सदाका लागि पार्टीबाट खेदेरै छोडे ।

उदाहरण १६
आफूले महासचिव पदबाट राजीनामा गरेर प्रचण्डलाई महासचिव बनाउने मोहन वैद्य उनै प्रचण्डबाट कम्युनिष्ट आन्दोलनबाट नै पलायन हुने गरी खेदिनु पर्यो ।

उदाहरण १७
राजाका कारण क्रमश पाँच र चार चोटी प्रधानमन्त्री हुने मौका पाएका सूर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्दले गणतन्त्रका पक्षमा आफ्नो मत जाहेर गरे ।

उदाहरण १८
विलीन हुन लागेको माओवादीलाई लगभग बराबरीको हैसियत दिएर शक्तिको मूलधारमा स्थापित गराउने केपी ओली नेपाली राजनीतिको चलेको चलनलाई विगत एक वर्षदेखि राम्ररी झेलिरहेका छन् ।

उपरोक्त उदाहरणहरुले नेपालको राजनीतिमा एउटा गज्जवको सूत्र स्थापित हुन गएको छ । कोही आफ्नै बलबुतामा आयो भने त्यो खतरनाक हुँदैन । जब कसैलाई बलजफती शक्तिमा ल्याइन्छ, अनि ल्याउनेको दुर्दशाा शुरु हुन्छ । यसरी शक्तिमा आउनेले ल्याउनेलाई कति पीडा दिन्छ, सो कुराको बयान गरी साध्य छैन ।

श्रोतः नेपालको इतिहास, विभिन्न पत्रपत्रिका प्रकाशित लेखहरु, जीवनी र अन्तवार्ताहरुमा आधारित

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय