मंगलबार , जेठ ४, २०७८

कोरोनाको भयावह अवस्था र मूकदर्शक सरकार

कोरोनाको भयावह अवस्था र मूकदर्शक सरकार

सम्पादकीय

१३ बैशाख, काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले यतिबेला भारत सबैभन्दा बढी प्रभावित बनेको छ । त्यसको असर नेपालमा समेत देखापरेको छ । नयाँ भेरिएन्टमा आएको भाइरसले पहिलो लहरको तुलनामा बढी प्रभाव पारेको विज्ञहरुको भनाई छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यतिबेला नेपालमा पनि संक्रमित र मर्नेको संख्यामा ह्वात्तै बढोत्तरी भएको छ । दैनिक तीन हजारको हाराहारीमा मानिस संक्रमित हुन थालेका छन् । यो क्रम यस्तै रहे आउने महिना अर्थात जेठ लाग्दासम्म दैनिक संक्रमित हुनेको संख्या १० हजार नाघ्ने अवस्था छ ।

कोरोनाकै कारण मृत्यु हुनेको संख्यासमेत बढिरहेको छ । अहिले त युवावयमा यसको असर ज्यादा देखिएको छ । त्यसैले तत्कालै प्रभावकारी नियन्त्रण संयन्त्रको तयारी जरुरी देखिएको छ । तर सरकार भने जतिबेला बढी त्रास फैलिएको छ, त्यतिखेर मस्त देखिन्छ । अहिलेसम्म पनि सरकारले जनजीवन सामान्य ठानेको छ । तर दैनिक संक्रमण र मृत्युदर भने डरलाग्दो बन्दैछ ।

कोरोनाको पहिलो लहर सुरु हुँदा केवल दुई जना मात्रै संक्रमित हुँदासमेत सरकारले लकडाउन गरेको थियो । तर अहिले भने दैनिक चार दर्जन मानिसको मृत्यु हुने अवस्था बनिसक्दासमेत सरकार मूकदर्शक देखिएको छ । यो किमार्थ ठीक होइन । समयमै नियन्त्रणमुखी कार्यक्रम सञ्चालन गर्न सकिएन भने भारतमा भन्दा कहालीलाग्दो अवस्था आउन सक्छ ।

साँच्चै भन्ने हो भने चैत लाग्दा नलाग्दै विद्यालयहरु बन्द गरिसक्नुपथ्र्याे । साथै, बैशाखको पहिलो दिनबाटै लकडाउन गरिदिएको भए अहिलेको जस्तो भयावह अवस्था आउने थिएन । भारतबाट नेपाल फर्किएका अधिकांशमा कोरोनाको संक्रमण फेला परेको छ । पश्चिम नेपालका सीमावर्ती क्षेत्रमा न त व्यवस्थित होल्डिङ सेन्टर नै बनाइए न आएकाहरुको चेकजाँच गर्ने बन्दोवस्त नै गरियो । जसले गर्दा लगभग भारतबाट आएका सबै नै संक्रमणको शिकार भए ।

उनीहरु बिना रोकटोक समुदायमा फैलिए । परिणामत : संक्रमण समुदायस्तरमै फैलियो । अहिले जताततै त्राहिमाम छ । विस्तारै राजधानीमा समेत व्यापक रुपमा फैलन थालेको छ । त्यसैले समयमै रोकथामका लागि सरकार सचेत हुनैपर्छ । नत्र यसको दुस्प्रभावले नेपाल र नेपालीको दुर्दशा सुरु हुने अवस्था छ । समयमै सरकार सचेत बनोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय