१७ चैत्र २०७९, शुक्रबार
निजामति प्रशासन

मालदार अड्डामा काम गरेका हाकिमलाई अध्यागमन विभागको जिम्मेवारी

प्रकाशित मिति :  २ चैत्र २०७९, बिहीबार ११:५९


२ चैत, काठमाडौं । लामो समय मालदार अड्डा मानिने सरकारी विभागहरुको नेतृत्व गरेर आएका सहसचिव झलकराम अधिकारीलाई कर्मचारी जीवनमै पछाडी फर्केर हेर्नु परेको छैन । निजामति प्रशासनभित्र मालदार अड्डाका रूपमा चिनिएका ‘अखडा’हरू सीमित भएपनि ती सबै अखडा भ्याएर पछिल्लो पटकको सरुवाबाट अधिकारी अध्यागमन विभागको महानिर्देशक हुन आइपुगेका छन् । हुन त त्रिभुवन विमानस्थलदेखि देशभरका अध्यागमन कार्यालयहरु सञ्चालन गर्न पाउने अड्डा पनि कमजोर मानिदैन । उनी अहिले त्यसकै प्रमुख छन् । त्यहाँ आउन पनि राजनीतिक शक्तिकेन्द्रको ठूलै आडभरोसा आवश्यक पर्छ । सेटिङ मिलाएर सेटिङ गर्ने ठाउँमा उनी आइपुगेको स्रोतले जनायो ।

नेपालमा आएर अनेकन आपराधिक धन्दामा संलग्न भइरहेका विदेशीहरूलाई दण्डित गर्न पनि यस विभागको ठूलो भूमिका हुन्छ । जस्तो कि पछिल्लो समय चीन, भारत, पाकिस्तानदेखि युरोप, अमेरिकासम्मका नागरिकहरूले नेपाल भूमि र नेपाली नागरिकलाई प्रयोग गरेर अपराधिक धन्दाको जालो फिँजाइरहेका छन् । उनीहरूलाई कानुनी दायरामा ल्याउन अध्यागमन विभागको महत्त्वपूर्ण भूमिका हुने भएपनि अहिले अधिकारीले विभागको प्रमुख सम्हालेपछि त्यस्ता कुनै प्रकारका कारवाही भएका छैनन् ।

सहसचिव अधिकारी अध्यागमन विभागलाई पुनर्संरचना-सुधार गर्न, सुशासन एवं सदाचार कायम गर्न गएका हुँदै होइनन्, ‘सेटिङ’ मिलाएर कमाउन गएका हुन् भन्नेहरू कर्मचारी वृत्तमा धेरै छन्। रोचक त के भने आन्तरिक राजश्व विभाग, सहकारी विभाग, ठूला करदाता कार्यालय, राजश्व अनुसन्धान विभाग र अध्यागमन विभाग एउटै प्रकृतिका कार्यालय होइनन् । आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, राजश्व अनुसन्धान विभागमा काम गर्न प्रचुर मात्रामा राजश्वको ज्ञान, विज्ञता एवं दक्षता आवश्यक हुन्छ । यता अध्यागमनमा चाहिँ गृह प्रशासनको ।

अधिकारी र उनी जस्ता निजामती सेवाको आडमा राज्यलाई दोहन गर्न पल्किएका सीमित पात्रहरूका लागि कर प्रशासनदेखि अध्यागमन धान्ने क्षमता उनीहरूसँग मात्र छ । अध्यागमन विभागको प्रमुख भएर जानु अघि अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए । त्यस अघि १ असार ०७९ मा अधिकारी राजश्व अनुसन्धान विभागको महानिर्देशक भएका थिए । १६ कार्तिक ०७९ मा राजश्व अनुसन्धान विभागबाट अधिकारीको सरुवा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको थियो । अध्यागमन विभाग गृह मन्त्रालय मातहत हो । त्यस विभागको महानिर्देशक हुन धेरै सहसचिवहरूबीच ठूलै तँछाडमछाड हुन्छ । कतिसम्म भने कतिपय त बोलकबोल गरेर जानसमेत तयार हुन्छन् । उनी भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट गृह मन्त्रालयमा सरुवा भएकै भोलिपल्ट अधिकारीले अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी पाएका  थिए ।

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै प्रत्यक्ष निर्देशनमा अधिकारी अध्यागमन विभागका महानिर्देशक बनेका हुन् । नेपालमा मानव तस्करको बिगबिगी नै छ । वैदेशिक रोजगारी, शिक्षालगायतका बहानामा मानव बेचबिखन भइरहेको छ । गरिबी र बेरोजगारीको चपेटामा परेका महिला, गरिब परिवारका बालबालिका र कतिपय पुरुष पनि बेचबिखनमा पर्छन् ।

पछिल्ला एक दशकयता रोजगारीका नाममा महिला मात्र होइन, पुरुषसमेत मानव बेचबिखनमा परिरहेका छन् । पुरुष मानव बेचबिखनमा परे पनि समाजमा इज्जत जाने डरले आफ्नो पहिचान लुकाउने गरेका छन् । तस्करीमा परेका पुरुष ठूलो रकम आर्थिक शोषणमा समेत पर्छन् । मानव तस्करीको सञ्जाल गाउँदेखि छिमेकी मुलुक भारत हुँदै विभिन्न देशसम्म फैलिएको छ । ठूला तस्करी विदेशमा बसेर नेपालमा एजेन्ट राखेर काम गर्दै आएका छन् । नेपालबाट पछिल्लो समय भारतभन्दा अन्य देशमा मानव बेचबिखन भइरहेको छ ।

भारत हुँदै खाडीका देश, मलेसिया, युरोपेली मुलुक, अफ्रिकासँग अमेरिका, अस्ट्रेलिया, क्यानडामा समेत नेपाली तस्करी भइरहेका छन् । यो क्षेत्रमा ठूलो मानव बेचबिखन भइरहेको छ । रोजगारी र अध्ययनका नाममा नीतिगत रूपमा नै मानव बेचबिखनले प्रश्रय पाउँदै आएको छ । यो विषयमा सरकारले चाँडै गम्भीर भएर काम नगरेर भविष्यमा ठूलो समस्या निम्त्याउने भएपनि विभागका प्रमुखकै निर्दैशनमा ठूलो संख्यामा मानवतस्करीलाई छुट हुने गरेको स्रोतको दावी छ । जानकारको भनाइ अनुसार प्रचण्डकै जन्म जिल्ला कास्कीका अधिकारी लेखा समूहबाट निजामती सेवामा प्रवेश गरेका थिए ।

पछि प्रशासन समूहबाट उपसचिवमा नाम निकालेका उनी ०७२ मा सहसचिव भए । त्यसपछि उनले प्रचण्डै आडमा यस्तै अखडामा बसेर अनुचित लाभ लिने गरेका छन् । ‘सहसचिव नहुँदै अधिकारी आन्तरिक राजस्व विभागको उपमहानिर्देशक भएका थिए । सहसचिव भए यता वातावरण विभागको महानिर्देशक, सहकारी विभाग रजिष्ट्रार, ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, राजस्व अनुसन्धान विभागको महानिर्देशक र अहिले अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारीमा छन् ’, स्रोतले भन्यो । जानकारका अनुसार एनसेलको कर ठगीलाई उन्मुक्ति दिने उच्च सरकारी अधिकारी मध्येका झलकराम अधिकारी पनि हुन् । त्यसबेला उनी ठूला करदाता कार्यालयकै प्रमुख कर प्रशासक थिए ।


3.17k
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा