विप्लव माओवादीका प्रभावशाली कमाण्डरमाथि कर्तव्य ज्यान मुद्दा चलाइने
इन्द्र रिजाल
चैत ९, २०७५ शनिबार १६:३३:१५
काठमाडौं । नख्खुस्थित एनसेलको मुख्यालयको गेट अगाडि गत फागुन १० गते गराइएको बम बिस्फोट घटनाको जिम्मा लिएका विप्लव माओवादीका पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेका छन्।
प्रहरीले उनलाई काभ्रेको खानीखोला गाउँपालिका–४ बरुणबेसीबाट शनिबार बिहान पक्राउ गरेको हो। नख्खु बिस्फोटको जिम्मेवारी लिएसँगै सुदर्शन प्रहरीको सर्वाधिक खोजीमा थिए।
महानगरीय प्रहरी अपराध महाशाखा, काभ्रे प्रहरी र विशेष ब्युरोको टोलीले उनीसहित आठजना विप्लव समूहका नेता पक्राउ गरेको हो । मध्यकमाण्ड इञ्चार्ज रहेका सुदर्शन विप्लव माओवादीमा तेस्रो वरियताका नेता हुन् ।
प्रहरीले दिएको जानकारी अनुसार सुदर्शन कार्यकतासहित शनिबार बिहान नै काठमाडौं आउँदै थिए । बसमा काठमाडौं आउने क्रममा प्रहरीले चेकजाँच गर्दा उनीसहित धर्म राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका हुन्।
सुदर्शन को हुन् ?
पाँच जनाको स्थायी कमिटीमा नेत्रविक्रम चन्द, खड्गबहादुर विश्वकर्मापछि तेस्रो वरियताका नेता हुन्, सुदर्शन । रुकुम जिल्लाका उनी विप्लव माओवादीको पाँच सदस्यीय स्थायी समितिका एक सदस्य पनि हुन्।
प्रहरीका अनुसार उनी विप्लवका विश्वासपात्र हुन् । चन्द र विश्वकर्माबीच ‘फरक विचार’ संघर्ष चलिरहेको प्रहरी बताउँछ । विश्वकर्मासँग विचार संघर्ष चलेसँगै चन्दले ओलीसँग सम्बन्ध प्रगाढ बनाएको बताइन्छ ।
तत्काली विद्रोही नेकपा माओवादीका पुराना नेतामध्ये एक हुन् ओली । माओवादीको युद्धको उद्गम रोल्पाबाट ओलीले पार्टीका लागि महत्वपूर्ण योगदान गरेका थिए ।
उनी मोटो मशालबाट कम्युनिस्ट राजनीतिमा आएका हुन्। उनले रोल्पा अतिरिक्त बझाङ, बाजुरा ठाउँमा युद्धको प्रभाव विस्तार गरेका थिए । उनी शहिद परिवारका हुन्। उनले युद्धमा छोरी गुमाएका थिए।
उनी पुष्पकमल दाहाल नेतृत्वको तत्कालिन एकीकृत नेकपा माओवादीमा पनि स्थायी समिति सदस्य थिए। दोस्रो विवाह गरेको भन्दै उनलाई दाहाल नेतृत्वको माओवादीले कारबाही गर्ने बताएपछि उनले पार्टी परित्याग गरेका थिए ।
उनले २०७२ साल वैशाख ३ गते एकीकृत नेकपा माओवादीबाट राजीनामा दिएका थिए । नयाँ पार्टी खोल्ने अभियानमा जुट्दै गर्दा उनी डेढ वर्षपहिले चन्दको पार्टीमा प्रवेश गरेका थिए। अध्ययनशिल मानिने उनी पार्टीको सैद्धान्तिक प्रशिक्षणमा बढी सक्रिय थिए ।
गत २०७४ फागुन ६ गते उनलाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको थियो। राष्ट्रिय युवा जनस्वयंसेवक नेपालको तेस्रोत राष्ट्रिय सम्मेलनमा जाँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
यसकारण कर्तव्य ज्यान मुद्दा चल्ने
सुदर्शनबाहेक बम बिस्फोट घटनामा अन्यको संलग्नता यकिन भइसकेको छैन। नख्खु बिस्फोटमा परी लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो । बिस्फोटमा ललितपुर–४ की २६ वर्षीया प्रतिक्षा खड्का र बनेपाकी २५ वर्षीया उरुसा मानन्धर घाइते भएका थिए ।
प्रहरीका अनुसार नख्खुमा टाइम बम राखिएको थियो। सोही दिन कमलपोखरीको आँगन मिठाइ पसलअगाडि प्रेसर कुकर बम रिमोट कन्ट्रोलमा राखिएको थियो।
सेनाले डिस्पोज गरेका कारण त्यहाँ बम बिस्फोट हुन पाएको थिएन । केही दिनअघि वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको सामाखुसीस्थित घरमा बम बिस्फोट गराइएको थियो । यी सबै घटनामा सुदर्शनको हात रहेको प्रहरीले दाबी गरेको छ।
अपराध महाशाखाका एक अधिकृतका अनुसार काठमाडौंका विभिन्न ठाउँमा बम बिस्फोट गराउने समूहको खोजीमा गएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चैत ५ गते काभ्रेकै रोशी गाउँपालिका–२ फलामेसाँघुबाट चार जना विप्लव कार्यकर्तालाई समातेको थियो।
त्यहाँ सुदर्शन पनि थिए। तर, उनी भाग्न सफल भएका थिए। प्रहरीका अनुसार यो समूह बम बनाउने, बिस्फोट गराउने कार्यमा सक्रिय थियो।
महाशाखाका ती अधिकृतका अनुसार रोशी गाउँपालिकामा प्रहरीले एकतर्फी चार राउन्ड फायर गरेको थियो। दोहोरो फायरिङ भनिए पनि प्रहरीले विप्लव कार्यकर्ता समात्न एकतर्फी फायर गरेको ती अधिकृत बताउँछन् ।
प्रहरीका अनुसार त्यसक्रममा दाङ तुलसीपुर उपमहानगरपालिका ३ का नुमबहादुर विक, भोजपुर टेम्केमैया गाउँपालिका–१ का डिकेन्द्र राई, झापा मेचीनगर नगरपालिका–३ का शिव धिमाल र सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ नेवारटोलका विशाल तामाङ पक्राउ परेका थिए ।
उनीहरू सबै नख्खु बिस्फोटमा संलग्न रहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।
सुदर्शनलाई नख्खु बिस्फोटको मुख्य अभियुक्त किटान गरी प्रहरीले मुद्दा चलाउने तयारी थालेको छ। उनीमाथि कर्तव्य ज्यान, बम बिस्फोट र हातहतियार तथा खरखजना मुद्दा चल्ने प्रहरीले जनाएको छ।
कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद (२५ वर्ष) सजाय हुने व्यवस्था छ। यस्तै, उनीमाथि बम बिस्फोट र हातहतियार खरखजना मुद्दा आकर्षित हुने देखिएको प्रहरीले जनाएको छ। फौजदारी संहिताको बम बिस्फोट, हातहतियार तथा खरखजना मुद्दामा पाँचदेखि दश वर्ष सजाय हुने व्यवस्था छ।
नख्खु बिस्फोट घटनामा यसअघि पक्राउ परेका नुवाकोट, साबिक तारुका गाविस–२ का ३८ वर्षीय सूर्य भूजेललाई प्रहरीले कर्तव्य ज्यान र बम बिस्फोट मुद्दा दायर गरी अनुसन्धान गरिरहेको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
सलमान खानको फिल्म सिकन्दरमा रश्मिकाको एन्ट्री
बैशाख २७, २०८१ बिहिबार
न्यायाधीश शर्माको इजलासमा पर्यो गण्डकी सरकारविरुद्धको रिट
बैशाख २७, २०८१ बिहिबार
आगलागीबाट घरसम्पती गुमाएपछि परिवारको बिजोग
बैशाख २७, २०८१ बिहिबार
आगलागीमा बाकसमा राखेको १६ हजार जलेर नष्ट
बैशाख २७, २०८१ बिहिबार
न्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
डढेलो लागेको मैदानमा पुनः घाँस पलाउँदै
बैशाख २७, २०८१ बिहिबार