ग्रामीण सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार १४:२३:२०
♦ डम्मर बुढा मगर
२२ भदौ, ढोरपाटन । असार दोस्रो सातादेखि बन्द भएका बागलुङका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन् । बाढी, पहिरो र खहरेखोलाका कारण अवरुद्ध बनेका सडक सञ्चालनमा नआउँदा बजारदेखि सामान ढुवानी गर्न समस्या भएको छ । सडक पूर्ण रुपमा अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या परेको छ ।
जिल्लाको निसीखोला, तमानखोला, बडिगाड र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकालगायत दर्जनौँ गाउँसम्म पुग्ने सडक ठप्प छन् । ठप्प सडक असोज लागे मात्रै खुल्ने भएका छन् । त्यसबेलासम्म मान्छेले नै बोकेर सामान ओसारपसार गर्नुपर्ने बाध्यता छ । करिब दुई महिनाअगाडि पहिरोले अवरुद्ध भएको सडक अहिलेसम्म सञ्चालनमा नआएको निसीखोला–१ का तुल्सीराम घर्तीले बताए । गाउँको तल्लो क्षेत्रसम्म सडक सञ्चालनमा रहे पनि माथिल्लो क्षेत्र पूर्ण रुपमा ठप्प भएको बताए ।
सडक अवरुद्ध हुँदा बुर्तिबाङ, देविस्थान लगायतका बजारबाट सामान ढुवानी गर्न नसकिएको घर्तीको भनाइ छ । केही दिनदेखि वर्षा रोकिएको हुँदा अब गाउँपालिकाले सडक खुलाउने विश्वास उनको छ । जेठमा जोहो गरेर राखेका खाद्यान्न सबै सकिन थालेको भन्दै स्थानीयवासीले बोकेरै बजारबाट सामान ल्याउन थालेको घर्ती बताउँछन् ।
“पहिले–पहिले यस्तो सडक थिएन, गाडी पनि गाउँमा जाँदैन्थे, अहिले सडक घरै अगाडि पुगेको छ, तर बर्खामा गाडी गुड्दैनन्, बर्खामा गाडी नगुड्दा यात्रा गर्न र बजारदेखि सामान ल्याउन निकै गाह्रो हुँदो रैछ”, घर्ती मगरले भने, “गाउँमा बल्ल मकै पाक्दैछ, नुन, चामल सबै बजारबाट ल्याउनुपर्ने, दुई महिनासम्म बजार जान पाइएको छैन, चाँडबाड पनि आउन लागे, अब बोकेरै भए पनि चाहिने सामान ल्याउनुपर्ने भयो, सडक खुल्न त अझै महिना दिन लाग्ला, त्यस बेलासम्म भोकै बस्न भएन, घरमा खानेकुरा सकिन थाल्यो ।”
जिल्लाको तमानखोला गाउँपालिकाका धेरै गाउँमा असार दोस्रो सातादेखि नै गाडी सञ्चालन हुन सकेका छैनन् । नर्जाखानी, पात्ले, भित्रिवन, खुङ्खानी, थास्पुरी लगायतका गाउँका बासिन्दाले घोडा खच्चड र मान्छेले नै बोकेर ल्याएका सामान उपभोग गर्दै आएका छन् ।
स्थानीयवासी मीनबहादुर सिर्पालीले गाउँमा पुग्न बोङ्गादोभान बजारदेखि चार स्थानमा खोला तर्नुपर्ने जनाउँदै अहिले पानीको बहाव बढ्दा समस्या भएको बताउनुभयो । एउटै खोलामा चार स्थानमा पुल आवश्यक पर्ने हुँदा अहिलेसम्म कुनै पनि ठाउँमा पुल नबन्दा समस्या भएको सिर्पाली बताउँछन् ।
“सडकले हिउँदमा त निकै सहज बनाइदिएको छ, तर बर्खामा भने समस्या बनाउँछ, बाटो बन्द भएपछि हिँडेर बजार आउनुपर्छ, हिँडेरै फर्किनुपर्छ, पहिले–पहिले धेरै ठूलो भारी बोकेर हिँड्दा पनि गाह्रो हुँदैन्थ्यो, अहिले गाडीले गर्दा बानी बिग्रिएर थोरै सामान बोक्न पनि गाह्रो पर्छ”, उनले भने, “अब बर्खा सकिन लाग्यो सडक खुलाउलान्, यो बर्खाको समय त निकै सास्ती खेप्नुपर्ने, कतिबेला कहाँ पहिरोले पुर्छ भन्ने डर, कति बेला बाढीले बगाउँछ भन्ने डर हुन्छ ।”
बर्खा कम हुँदै गएपछि खोलामा पानीको बहाव घट्दै गएको हुँदा अब केही समयमै सडक खुलाउने प्रयास गर्ने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । लामो समयदेखि ग्रामीण सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएकाले भौगोलिक विकटताका कारण वर्षौंदेखि समस्या झेल्दै आएको उनको भनाइ छ । ग्रामीण सडकमा धेरै समस्या नभएको भन्दै खोलाका कारण यातायातका साधान सञ्चालन हुन नसकेको अध्यक्ष बुढा मगर बताउछन् ।
उनले भने, “दुई वर्ष अगाडिसम्म बुर्तिबाङदेखि गाउँपालिकाको केन्द्र बोङ्गादोभानसम्म पुग्न पनि दुई खोला पार गर्नुपर्थ्यो, खोलामा पुल नहुँदा यातायातका साधन ठप्प हुन्ने, अहिले त पुल बनेको छ, तर बोङ्गादोभानदेखि गाउँ–गाउँमा पुग्न, एउटै खोलाको पनि धेरै स्थानमा पुल बनाउनु पर्ने छ, पालिकाले एक्लै पुल बनाउन सक्ने क्षमता हुँदैन, माथिल्लो निकायसँग माग गरेका छौँ, बिस्तारै पुल प¥यो भने सिधा यातायात सञ्चालन हुने छ, नागरिकले अहिलेको जस्तो दुःख पाउनुपर्ने छैन ।”
केही दिनयता वर्षा रोकिएको हुँदा खोलामा पानीको बहाव पनि कम हुँदै गएको जनाउँदै अब केही दिनमा सबै शाखा सडकहरू खुलाउने तयारी रहेको अध्यक्ष बुढा मगरले बताए । वडा नम्बर २ को खोलेस्बाङ लगायत अन्य गाउँमा बाह्रै महिना सडक सञ्चालन नहुने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका
बैशाख १९, २०८१ बुधबार
नारायणगढ–बुटवल सडकमा पचास प्रतिशत काम पूरा, ‘बेस’ र ‘सबबेस’ बनाउने काम जारी
बैशाख १९, २०८१ बुधबार
कहिले सकिन्छ बुटवल नारायणगढ सडकको काम ?
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नगरकोटमा पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
मजदुरीमै बित्यो जीवन, निधारमा दाम्लोको दाग साक्षी छ !
बैशाख १९, २०८१ बुधबार
गृहले गर्यो सशस्त्र प्रहरी बलका १६ डीआईजीको सरुवा
बैशाख १९, २०८१ बुधबार
सलमानको घर बाहिर गोली हान्ने आरोपीले हिरासतमा गरे आत्महत्या !
बैशाख १९, २०८१ बुधबार
चालीस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित
बैशाख १९, २०८१ बुधबार
श्रमिक दिवसले छोएन इँटा भट्टाका मजदुरलाई
बैशाख १९, २०८१ बुधबार
श्रमिक दिवसका दिन श्रम मन्त्रालयले घोषणा गर्यो श्रमदान अभियान
बैशाख १९, २०८१ बुधबार