लालीगुराँसले मनमोहक घोडेपानीमा पर्यटकको घुइँचो
नेपालबहस संवाददाता
चैत ३०, २०८० शुक्रबार १६:२८:४५
३० चैत, म्याग्दी । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा समुद्रि सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानी पुनहिल क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ । वसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले अझै मनमोहक र आकर्षक बनेको घोडेपानीमा रमाउने पर्यटकको घुइँचो लागेको छ ।
“लालीगुराँस फुलेर ढकमक्क बनेको घोडेपानी घुम्न आएका स्वदेशी र विदेशी पाहुनाले यहाँका साना ठूला होटल भरिभराउ भएका छन्”, घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले भने, “विद्यालय, एसइईको वार्षिक परीक्षा सकेर फुर्सदिला भएका शिक्षक विद्यार्थीदेखि नयाँ वर्ष मनाउन गुराँसको सौन्दर्यमा रमाउन जागिरे र व्यवसायी यहाँ आउनुभएको छ ।”
सत्ताइस वटा होटल रहेको घोडेपानीमा दैनिक एक हजारजना बास बस्न सक्छन् । साना ठूला सबै होटलमा पाहुनाले भरिएका उपाध्यक्ष पुनले बताए । जाडो हटेर वनजङ्गलमा लालीगुराँस फुलेपछि रमाइलो वातावरण बनेको छ । चैत–वैशाख गुराँस फुल्ने याम हो । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छन् ।
पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न पाउँदा रमाइलो महसुस भएको घोडेपानी घुमेर फर्किएका मङ्गला गाउँपालिका–५ का करन कँडेलले बताए ।
विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा ३२ प्रजातिका छन् । घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अध्ययन प्रतिवेदनमा उल्लेख छ । लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो । एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको स्थानीयवासीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताए ।
“वनैभरि राताम्मे फुलेका गुराँसका रङ्गले घोडेपानी क्षेत्रको जङ्गल निकै मनमोहक र आकर्षक बनेको छ”, उनले भने, “गुराँसले भरिएको जङ्गलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटकको चहलपहल बढेको छ ।” बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौँलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा गएका छन् । बेनीबाट आठ जनाको समूहमा घोडेपानी घुम्न गएका अस्मिता केसीले बजारदेखि टाढाको एकान्त वातावरण र गुराँसले रङ्गिएको जङ्गलमा पदैलयात्रा गर्दा रमाइलो महसुस भएको बताए ।
गुराँस, पहाड, हिमाल, सूर्योदयको दृश्यबाट मोहित भएको चितवनकी अस्मिता खरेलले अनुभव सुनाए । फागुन महिनासम्म सुनसान घोडेपानीमा गुराँस फूल्न थालेपछि चहलपहल बढेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताए ।
एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित रु नौ सय ५० देखि एक हजार ६०० को प्याकेज बनाइएको छ । अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी समुद्री सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ । घोडेपानीदेखि ३० मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ ।
समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, हिमाल र लालीगुराँसको जङ्गल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल-चीन आर्थिक तथा व्यापार मेला सुरु (फोटोफिचर)
बैशाख १७, २०८१ सोमबार
मनसुन प्रतिकार सम्बन्धी उद्धार अभ्यास डेमोस्ट्रेस्न मनसुन-२
बैशाख १६, २०८१ आइतबार
राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
इलाममा सुहाङको मत २१ हजार कट्यो, अग्रता कायमै
बैशाख १७, २०८१ सोमबार
सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार