७ आश्विन २०७८, बिहीबार

मिडिया काउन्सिल विधेयकको संरचना नै त्रुटिपूर्ण

प्रकाशित मिति :  २९ बैशाख २०७६, आईतवार २०:४६


काठमाडौं । सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका बारेमा नेपाल पत्रकार महासंघले आइतबार सरोकारवाला र विज्ञसँग छलफल गरेको छ ।

संसदमा दर्ता भएको विधेयकको प्रावधान सच्याउन माग गर्दै साताव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको महासंघले महासंघका पूर्व पदाधिकारी, विभिन्न सञ्चार माध्यमका सम्पादक, कानूनविद् तथा विज्ञहरूसँग छलफल गरेको हो ।

कार्यक्रममा महासंघका पूर्व सभापति तारानाथ दाहालले हाल संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयकको संरचना नै त्रुटिपूर्ण रहेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले समाचार लेखेकै आधारमा दण्ड सजाय हुन्छ भने त्यहाँ लोकतन्त्र नरहने बताइन । उनले संविधानले ग्यारेन्टी गरेको जनताको मौलिक अधिकारलाई सरकारले कुन्ठित गर्न नुहने बताए ।

कान्तिपुर दैनिकका प्रधान सम्पादक नारायण वाग्लेले सञ्चारगृहले नै स्वनियमन गर्ने कानुनको अवधारण आइरहेको बेला सरकारले संविधानको प्रस्तावना विपरित नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक ल्याउन लागेको भन्दै त्यसलाई सच्याउनुको विकल्प नरहेको बताए ।

महासंघले विधेयकका प्रावधानले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रूपमा स्थापित गर्ने र स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने ठहर गर्दै संघर्षका कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकेको छ ।

विरोधका कार्यक्रम अन्तर्गत जेठ ३ गतेसम्म विभिन्न कार्यक्रमहरू महासंघले राखेको छ । संसद बाहिर र जिल्ला सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने पनि कार्यक्रम महासंघले राखेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा