बागलुङमा ‘आमासँग प्रहरी कार्यक्रम’ शुरु
Advertisement

२९ साउन, बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले दुव्र्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ शुरु गरेको छ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत सञ्चालन हुने कार्यक्रमको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले मङ्गलबार शुभारम्भ गरेका छन् ।

सो अवसरमा प्रजिअ क्षेत्रीले सभ्य, सुसंस्कृत र उन्नत समाज निर्माणका लागि कार्यक्रमले सघाउने विश्वास व्यक्त गरे । उनले लागुऔषध दुव्र्यसनीविरुद्ध सबै एकजुट हुनपर्ने धारणा राखे । लागुऔषध दुव्र्यसनीरहित जिल्ला बनाउने उद्देश्यले कार्यक्रम शुरु गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

“सचेतनामूलक अभियानलाई थप प्रभावकारी र जनमुखी बनाउन आमासँग प्रहरी कार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने । घरकै सदस्यमा दुव्र्यसनीको समस्या भए नलुकाउने, गोप्य सूचना दिनेजस्ता कुरामा आमाहरूले सघाउने प्रहरीको विश्वास छ ।

Advertisement

“दुव्र्यसनीको पीडा शुरुमा आमा र परिवारलाई पर्ने हुँदा अभियानमा आमाहरूबाट सकारात्मक सहयोग मिल्नेमा हामी विश्वस्त छौँ”, प्रहरी उपरीक्षक भट्टले भने । प्रहरीले लागुपदार्थ सेवन गरे-नगरेको जाँच्न ‘किट’ प्रयोगमा ल्याएकाले त्यस्तो जाँचमा पनि अभिभावकले सघाउनुपर्ने जनाएको छ । प्रहरीले सामान्य अवस्थाका लागुऔषध प्रयोगकर्तालाई सचेत बनाएर पठाउने गरेको छ । लामो समयदेखि दुव्र्यसनीमा फसेकालाई भने उपचारका लागि पुनःस्थापनागृहसम्म पठाउने गरेको छ ।

सेवनसँगै किनबेच र ओसारपसारमा संलग्न भएकालाई भने कानूनअनुसार कारवाही गर्ने गरिएको छ । बागलुङ नगरपालिका वडा नं ३ का अध्यक्ष लक्ष्मी बाँस्कोटाले दुव्र्यसनी रोक्नु स्थानीय तहको पनि दायित्व हो भने ।

दुव्र्यसनीमा फसेका बालबालिका, युवालाई त्यसबाट मुक्त गर्न आमाहरू सबैभन्दा सहज र प्रभावकारी माध्यम हुनसक्ने उनको भनाइ छ । कार्यक्रममा बोल्ने वक्ताहरूले समुदायको सहयोग र सहभागिताबिना कार्यक्रम सफल नहुने विचार राखेका थिए ।

कार्यक्रम शुभारम्भकै अवसरमा जिल्लास्थित आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले प्रहरीलाई लागुपदार्थ सेवन (लापसे) जाँचका लागि २० थान ‘किट’ प्रदान गरेको थियो । प्रहरीले हालै मात्र बागलुङमा ‘लापसे’ जाँचको अभियान थालेको हो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here