
क्यारोलिन पार्किन्सन
स्वास्थ्य सम्पादक, बीबीसी न्यूज
माछामासुरहित आहार गर्दा मुटुको रोग लाग्ने सम्भावना कम हुने भएपनि मस्तिष्कघातको जोखिम बढ्ने एउटा ठूलो अध्ययनले देखाएको छ ।
१९ भदौ, लण्डन । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापकहरूले गरेको अध्ययनमा ४८ हजार व्यक्तिलाई १८ वर्षसम्म हेरिएको थियो ।
प्रत्येक हजार मानिसहरुमध्ये मुटुको रोग लाग्ने शाकाहारीको सङ्ख्या मांसाहारीको भन्दा १० कम थियो । तर मस्तिष्कघात हुनेमध्ये शाकाहारीको सङ्ख्या तीन जनाले बढी थियो । आहार विशेषज्ञहरूका अनुसार शाकाहार वा मांसाहार जे गरे पनि धेरै प्रकारका खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ।
यो अध्ययनको महत्त्व के ?
उक्त शोधमा आहार र स्वास्थ्यबारे एउटा प्रमुख दीर्घकालीन ईपीआईसी-अक्सफोर्ड अध्ययनको तथ्याङ्क प्रकाशित गरिएको छ । सन् १९९३ देखि २००१ देखि अध्ययनमा सहभागी भएका आधा मानिस मांसाहारी थिए भने १६ हजार शाकाहारी तथा ७५ सय जना माछा मात्रै खाने थिए ।
अध्ययनमा सहभागी हुने बेलामा उनीहरूलाई आफ्नो आहारबारे सोधिएको थियो । सन् २०१० मा फेरि त्यही कुरा सोधियो । उनीहरूको स्वास्थ्यस्थिति, धूमपान गर्ने बानी तथा शारीरिक व्यायाम गर्ने वा नगर्ने पक्षलाई पनि अध्ययनमा समावेश गरिएको थियो।
तीमध्ये जम्मा दुई हजार आठ सय २० जनालाई हृदयरोग लागेको थियो भने एक हजार ७२ जनालाई मस्तिष्कघात भएको थियो । माछा मात्रै खाने मानिसमा हृदयरोगको जोखिम १३ प्रतिशत कम र शाकाहारीमा २२ प्रतिशत कम देखिएको छ।
तर शाकाहारीहरूमा मस्तिष्कघातको सम्भावना २० प्रतिशत बढी देखिएको छ। शाकाहारीमा भिटामिन बी १२ को कमी हुने भएकाले त्यसो भएको हुनसक्ने तर थप अध्ययन चाहिने बताइएको छ।
के शाकाहारी हुनु अनुचित हो ?
ब्रिटिश डाईअटेटिक एसोसिएशनका डा. फ्रान्की फिलिप्स भन्छन्, होइन । किनभने यो अध्ययनमा मानिसहरूले वर्षौसम्म के खान्छन् भनेर मात्रै हेरिएको छ।
उनका अनुसार यो अध्ययनले सम्बन्ध देखाउने भए पनि त्यही कारणले त्यसो भएको हो भन्ने देखाउँदैन् । यसको सन्देश भनेको सबै खाले खानेकुराहरू मिसिएको आहार नै ठिक हुन्छ भन्ने हो ।
के खाने त ?
ब्रिटेनको न्याश्नल हेल्थ सर्भिसेजका अनुसार जुनसुकै आहार खाए पनि तपाईको खानेकुरामा निम्न कुरा हुनुपर्छ
प्रत्येक दिन कम्तीमा पाँचथरी फलफूल र तरकारी आलु, पाउरोटी, चामल र पास्तामध्ये एक प्रोटिन बिर्सनुहुँदैन ( मासु, माछा, गेडागुडी वा दाल ,दुग्धपदार्थ तर चिल्लो, नुन र चिनी कम खानुपर्छ ।)
शाकाहारीहरूले पोषणका बारेमा विशेष ध्यान दिनुपर्छ किनभने माछामासु वा दुग्धपदार्थबाट प्राप्त हुने भिटामिन बी १२ शरीरका लागि आवश्यक हुन्छ ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 1 मिनेट