देउवाले सभापतिको दम्भ नपाले हुन्छ
Advertisement

नेपाली कांग्रेसमा अहिले आएर अनुसासन समिति क्रियाशिल भएको देखिएको छ । बर्षौसम्म निदाएर बसेको अनुशासन समितिको भर्खरैको सक्रियताले पार्टीभित्र खुशीको सञ्चार हैन निराशाको कालो बादल छाएको कांग्रेसका बिभिन्न नेता तथा कार्यकर्ताहरुको भनाईहरुबाट प्रष्ट भैरहेको छ ।

अन्य पार्टीबाट आफ्नाे पार्टीमा प्रबेश गराउने, पार्टीलाई अझ सशक्त र दर्बिलो बनाउने, आगामी निर्वाचनमा पार्टीलाई पहिलो दलको रुपमा स्थापित गराउने, पार्टीभित्र बिभिन्न प्रशिक्षण र अन्तरक्रियात्मक कार्यक्रमहरु चलाउनु पर्ने बेलामा पार्टीको लागि आफ्नाे जीवन अर्पण गरेका, आफुभन्दा पनि त्यागी, पार्टीप्रति ईमान्दार नेताहरुलाई बेमौसमको कार्वाही प्रकरणले स्वयं शेरबहादुर देउवालाई नै अप्ठ्यारोमा पार्ने देखिन्छ । निर्वाचनका बेला पौडेललाई चुनाव हराउन स्वयं देउवा नै अग्रसर भएको बेला अहिले आएर किन र के का आधारमा गोविन्दराज जोशी लगायत ओझा र विष्टलाई कार्वाहीको नाटक मञ्चन गरिएको हो ?

आफ्नाे कार्यकाल गुजारेर भवितव्यका रुपमा प्राप्त थप कार्यकालमा आएर अझ भनौ पार्टीको चौधौं महाधिवेशनको मिति तय भैसकेपछि, पार्टीमा क्रियाशिल सदस्यता नविकरण र नयाँ क्रियाशिल प्रमाणपत्र बितरण हुन थालेपछि गरिएको जोशी बिरुद्धको यो कार्वाहीलाई नेपाली कांग्रेसका लाखौं नेता तथा कार्यकर्ताहरुलाई चित्त बुझ्ने कुरा हुनै सक्दैन । त्यसो हो भने आफै प्रधानमन्त्री भएर चुनाव गराउँदा पनि कञ्चनपुरमा आफ्नै स्वास्नीलाई चाँहि कसले चुनाव हराएको नि ? गोबिन्दराज जोशीले ? पुष्करराज ओझाले कि बिष्टले ? प्रचण्डकी छोरीलाई काखी च्यापेर हिडनेले आफ्नी स्वास्नीले चुनाव हार्ने अवस्था देखेपछि किन मतपत्र नच्यातेको ?

Advertisement

अहिले सिंगो पार्टी पंक्ति चौधौ महाधिवेशनमा होमिएको छ । अन्यत्र छरिएर रहेका प्रजातन्त्रका पक्षधर नेता तथा कार्यकर्ताहरुलाई समेत नेपाली कांग्रेसको चारतारा अंकित झण्डामुनी गोलबद्ध गराउँदै सिंगो मुलुकको नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने अभिभारा रहेको छ । देशमा कम्यूनिष्ट सरकारको बर्बर दमन र भ्रष्टाचारको कहालीलाग्दो आँकडा सबैका सामु उधाङ्गो हुँदै गैरहेको छ । जनता वर्तमान सरकारको आवेगात्मक रुपमा आएको करको भार थेग्न नसकेर मझेरीमै थला पर्ने अवस्थामा पुगेका छन् । आम्दानीका बाटाहरु एकपछि अर्को गर्दै बन्द हुँदै गैरहेका छन् । लगातारको सीमाना बन्दका कारण राज्यले उठाउनु पर्ने अरबौं रुपैयाको राजस्व समेत खेर गैरहेको छ । बिदेशी भूमिमा पसिना बगाएर नेपाली जनताले पठाउदै गरेको रेमिट्यान्स पनि निरन्तर रुपमा घटदो क्रममा छ । रोगको महामारीबाट बचेर स्वदेश फर्किने नेपाली नागरिकको लर्को अझै पनि रोकिएको छैन ।

देश निर्माणका लागि भनेर जनताबाट अनुमोदित भएर राजधानी छिरेका देशमारा तथा जनतामारा कम्यूनिष्ट सर्वहाराहरुले देशलाई समृद्ध बनाउने नारा उरालेर जनतालाई कङ्गाल बनाउने कार्यमा लागिपरेका छन् । जति सकिन्छ सोहोर्ने र देशलाई टाँट पल्टाएर छोडने अपराधीहरुको चंगुलबाट देशलाई बाहिर निकालेर देश र जनताका पक्षमा काम गर्ने हजारौ अवसरहरुलाई एकातर्फ पन्छाएर वर्तमान कांग्रेस सभापति एक निष्ठावान, आदर्शवान, त्यागी र कांग्रेसकै जिउँदो ईतिहासलाई पार्टीबाट निष्काशन गरेर आफ्नाे बहादुरीपनको उदाहरण दिनमै ब्यस्त रहेको देखिन्छन् ।

नेपाली कांग्रेसलाई गुटगत राजनीतिले मरणाशन्न अवस्थामा पुर्याएको छ । आफु गृहमन्त्री भएदेखिनै गुटको र सानो झुण्डको राजनीति गर्न माहिर, आफ्नै पार्टीको बहुमतको सरकार ढाल्नदेखि बहुमतमा सरकार सञ्चालन गर्दै गरेको पार्टी फुटाउनेसम्मको हर्कत गर्न सक्ने देउवालाई नेपाली कांग्रेसको महामानव मान्न सकिदैन । नेपाली कांग्रेसले देउवालाई एकपटक पार्टीको कमाण्ड सम्हाल्न र नेपाली कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन सक्छन् कि ? भनेर कार्यकर्ताहरुले माया गरेर पार्टीको सभापति बनाएका हुन । देउवालाई बाचुञ्जेल नेपाली कांग्रेसको पार्टी सभापति पक्कै पनि बनाएका हैनन् र उनले म बाचुञ्जेल नेपाली कांग्रेसको सभापति हुँ मलाई कसैले पनि सभापति पदबाट बेदखल गर्न सक्दैन भनेर दम्भ नपाले पनि हुन्छ ।

रामचन्द्र पौडेललाई मात्र हैन नेपाली कांग्रेसका अन्य कैयौं पार्टीका ईमान्दार र होनहार नेताहरुलाई निर्वाचनमा हराउन ककसले के कतिसम्मको हर्कत गरे भन्ने कुरा आम नेपाली कांग्रेसका ईमान्दार नेता तथा कार्यकर्ताहरुलाई जगजाहेरै छ । यसमा वर्तमान पार्टी सभापति तथा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको के कस्तो भूमिका रह्रयो भनेर बुझ्न कतै टाढा जानु पर्दैन । आफ्ना पार्टीका होनहार नेतालाई जुल्फीमा समातेर थेचार्दै प्रचण्ड पुत्रीलाई काखी च्यापेको र निर्वाचनको विश्वब्यापी मान्यतालाई लल्कार्दै मतपत्र च्यात्नेसम्मको हर्कत गर्न भ्याउने देउवाले रामचन्द्र पौडेललाई हराउन गोविन्दराज जोशी लागिपरेको भन्ने हास्याँस्पद र कपोकल्पित आरोप लगाएको कत्ति पनि सुहाएको छैन । आफै प्रधानमन्त्री भएर आफ्नै श्रीमतीलाई चुनाव जिताउन नसक्ने हुतिहाराले अर्कालाई चुनाव हराउन अर्कै नेता क्रियाशिल देखिएकोले पार्टीबाट निष्कासन गरियो भन्नु त्यो पनि पार्टीको महाधिवेशनको मुखमा कहाँसम्म सुहाउने कुरो हो ?

नेपाली कांग्रेस अहिले चौधौ महाधिवेशनको संघारमा छ । पार्टी भित्रका यस्ता गुट, उपगुटका नाईकेहरुलाई परास्त गर्दै सिंगो नेपाली कांग्रेस निर्माण गर्ने यो नै अत्यन्त ठूलो अवसर रहेको छ । यस अवसरलाई नेपाली कांग्रेसका तमाम क्रियाशिल कार्यकर्ता, स्थानीय तहका नेता, भातृ संगठनका नेता तथा कार्यकर्ताहरु, नेपाली कांग्रेसमा आबद्ध समस्त उद्योगी, व्यापारी, पेशागत संघ-संगठनमा आबद्ध कार्यकर्ता तथा सम्पूर्ण तरुण दल र नेपाल बिद्यार्थी संघले एक स्वर र एकै प्यानलको अबधारणा बनाई सिंगो नेपाली कांग्रेसलाई एकताको सन्देश दिन सक्नुपर्छ ।

नेपाली कांग्रेसलाई अभिभावकत्व प्रदान गर्दै सांगठनिक सुधारमा क्रियाशिल रहन सक्ने, विश्वेश्वरप्रसाद कोईरालाको प्रजातान्त्रिक समाजवादको मुल मर्मलाई पुनः प्रतिस्थापित गर्दै समानता र न्यायका पक्षमा उभिन सक्ने नेपाली कांग्रेस बनेको हामी सबैले देख्न पाईयोस् । जय नेपाल !

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here